पुन: प्रदर्शन हुँदै पाँच सिनेमा

पुन: प्रदर्शन हुँदै पाँच सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – करिब ८ महिनादेखि ठप्प भारतका सिनेमा हल भोलि बिहिबारदेखि खुल्दैछन् । सरकारले दिएको गाइडलाइनमा आधारित रहेर केहि संख्यामा हलहरु खुल्दैछन् ।

केन्द्रिय सरकारले हल खुल्ला गरेपनि कोरोनाको जोखिम भने कायमै छ । यस्तोमा नयाँ र ठुला बजेटमा बनेका सिनेमाका मेकरहरुले जोखिम उठाउने छैनन् । अहिलेसम्म नयाँ सिनेमा रिलिजको लागि अगाडी पनि आएका छैनन् । त्यसोभए दर्शकले हल पुगेर कुन सिनेमा हेर्ने त ?

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले यो समयमा नयाँ सिनेमा रिलिज नहुने जानकारी दिएका छन् । उनका अनुसार पाँच पुराना सिनेमा अक्टुबर १५देखि हलमा रिलिज हुनेछन ।

तान्हाजी: द अनसुङ वारियर

२०२० को जनवरीमा १० मा रिलिज भएको ‘तान्हाजी’ हलमा पुन: प्रदर्शन हुनेछ । यो सिनेमा वर्षको एक मात्र सुपरहिट हो । अजय देवगण, सैफअलि खान र काजोल स्टारर सिनेमाले भारतीय बक्सअफिसमा २ सय ८० करोडको व्यापार गरेको थियो ।

यस मसाला पिरियड ड्रामालाई ओम राउतले निर्देशन गरेका हुन् ।

शुभमंगल ज्यादा सावधान

आयुषमान खुराना र जितेन्द्र कुमार स्टारर सिनेमा ‘शुभमंगल ज्यादा सावधान’ गत फेब्रुअरीमा रिलिज भएको थियो । पुरुष समलिंगीको कथामा बनेको सिनेमा बक्सअफिसमा एभरेज सावित भएको थियो ।

समिक्षात्मक र व्यापारिक रुपमा ठिकठाक मानिएको सिनेमा भोलिदेखि केहि हलमा रिलिज हुनेछ । हितेश केवल्याले निर्देशन गरेको सिनेमाले बलिउडमा ६३ करोडको व्यापार गरेको थियो ।

थप्पड

तापसी पन्नु स्टारर ‘थप्पड’लाई समिक्षकले रुचाएका थिए । गएको फेब्रुअरीमै रिलिज भएको सिनेमाले घरेलु बक्सअफिसमा ३२ करोडको व्यापार गर्दै लगानी मात्र रिकभर गरेको थियो ।

अनुभव सिन्हा निर्देशित सिनेमाले पुन: प्रदर्शनमा कस्तो व्यापार गर्छ हेर्न बाँकी छ ।

मलंग

आदित्य रोय कपूर र दिशा पटानी अभिनित रोमान्टिक थ्रिलर ‘मलंग’ पनि यसै वर्षको फेब्रुअरीमा रिलिज भएको थियो । सिनेमा बक्सअफिस र समिक्षात्मक रुपमा एभरेज सावित भएको थियो ।

मोहित सुरी निर्देशित सिनेमामा आदित्य र दिशाका अलावा अनिल कपूर, कुनल खेमुलगायतका कलाकारहरुको अभिनय छ । सिनेमाले घरेलु बक्सअफिसमा ६० करोड कमाएको थियो ।

केदारनाथ

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुत र सारा अलि खान स्टारर सिनेमा २०१८ को डिसेम्बरमा रिलिज भएको थियो । त्यतिबेला सिनेमाले ६२ करोड माथिको व्यापार गरेको थियो ।

सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणपछि दर्शकमा देखिएको क्रेजले ‘केदारनाथ’ले पुन: बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यो सिनेमाको निर्देशन अभिषेक कपूरले गरेका हुन् ।