सलमानको ‘राधे’लाई डिजिटल प्लेटफर्ममा रिलिज नगर्न आग्रह

सलमानको ‘राधे’लाई डिजिटल प्लेटफर्ममा रिलिज नगर्न आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड सुपरस्टार सलमान खानको आगामी सिनेमा ‘राधे : योर मस्ट वान्टेड भाइ’ लाई डिजिटल प्लेटफर्ममा रिलिज नगर्न आग्रह गर्दै वितरक अक्षय राठीले निर्माण टिमलाई पत्र लेखेका छन् ।

कोरोना महामारी र लकडाउनका कारण लामो समयसम्म सिनेमा हल बन्द भयो । हाल सिनेमा हल पुन : सञ्चालनमा आएपनि दर्शकको उपस्थिति उत्साहजन छैन । यस्तो अवस्थामा सलमानको सिनेमा ‘राधे’ ले दर्शकलाई हलमा फर्काउन सक्ने वितरकको विश्वास छ ।

वितरक राठीले सलमानलाई मेन्सन गर्दै लेखेका छन्, ‘प्रिय सलमान, सिनेमा प्रदर्शन संस्थाद्वारा एक विनम्र अपील गर्न चाहन्छौं । सिनेमा राधेले हल व्यवसायलाई केही राहत प्रदान गर्न सक्छ भन्नेमा विश्वास राखेका छौं । सिनेमा हलमा रिलिज भए देशभरका तपाईंको फ्यानहरू पनि खुशी हुन्छन् । हामी तपाईंको सिनेमा हलमा प्रदर्शन भएको हेर्न चाहन्छौं ।’

सलमानले आफ्नो सिनेमा ‘राधे’ जी स्टुडिओलाई बेचेका थिए । भारतीय मिडियाको अनुसार उनले भारु २ सय ३० करोडमा सिनेमा जी स्टुडिओलाई बेचेका हुन् । जी स्टुडिओले सिनेमा किनेसँगै ओटीटीमा रिलिज हुने चर्चा छ ।

सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ, गौतम गुलाटी लगायत कलाकारको अभिनय रहेको छ । ‘राधे’ आगामी इदमा रिलिज हुने भनिएको छ ।