सैफको ‘तान्डव’ विवादपछि निर्देशकले मागे माफी

सैफको ‘तान्डव’ विवादपछि निर्देशकले मागे माफी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स्, काठमाडौं – अमेजन प्राइम भिडियोमा रिलिज भइरहेको वेबसिरिज ‘तान्डव’ विवादमा फसेको छ । सिरिजले हिन्दु देवी-देवताको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टी, बिजेपीका सांसद, कार्यकर्ता र हिन्दु धार्मिक संघ-संगठन कडा विरोधमा उत्रिएका हुन्। उनीहरूका अनुसार उक्त सिरिजमा भगवान राम, नारद र शिवलाई अपमानजनक रुपमा चित्रण गरिएको छ। सिरिजका निर्माताविरुद्ध एफआईआर समेत दर्ता भएको छ ।

‘तान्डव’ निर्देशक अलि अब्बास जफरले चौतर्फी विरोधपछि माफी मागेका छन् । उनले कुनै पनि धर्म वा जाति, समुदायमा चोट पुर्याउने अभिप्राय नभएको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘हामी ताण्डवलाई आइरहेको दर्शकहरुको प्रतिक्रिया नजिकबाट नियालिरहेका छौं । सूचना तथा प्रसारण मन्त्रालयसँग भएको छलफलका क्रममा हामीलाई ठूलो मात्रामा आइएको गुनासो र प्रतिक्रियाका बारेमा बताइयो, जहाँ मानिसहरुको भावनामा ठेस पुगेको भनिएको थियो । कास्ट वा क्रुका कुनै व्यक्ति जाति, समुदाय, आस्था, धर्म, राजनीतिक पार्टी वा जिउँदो–मृत व्यक्तिको भावनामा चोट पुर्याउने वा अपमान गर्ने कुनै अभिप्राय थिएन । कास्ट र क्रु टिम सबैको भावनाको सम्मान गर्दै बिना शर्त माफी माग्छौं ।’

सिरिजलाई लिएर विवाद यसरी बढ्यो कि यसको असर राजनीतिमा पनि देखियो । तान्डवको विषयमा सूचना तथा प्रसारण मन्त्रालयले आइतबार अमेजन प्राइमका अधिकारीहरुलाई पनि नोटिस पठाएको थियो ।

तान्डव एक पोलिटिकल थ्रिलर वेबसिरिज हो । सिरिजमा सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अय्युब, सुनिल ग्रोवर, गौहर खान, तिग्मांसु धुलिया लगायतको अभिनय छ ।                                                                                                                                                                              – एजेन्सी