राजस्थानको जिल्ला विधिकमा कट्रिना र विक्कीको विवाहविरुद्ध मुद्दा दर्ता

राजस्थानको जिल्ला विधिकमा कट्रिना र विक्कीको विवाहविरुद्ध मुद्दा दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विक्की कौशल र कट्रिना कैफको आजदेखि तीन दिनसम्म चल्ने विवाहको विषयलाई लिएर राजस्थानका एक वकिलले उजुरी दर्ता गराएका छन् । राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह समारोह ७ देखि ९ डिसेम्बरसम्म चल्ने कार्यक्रम छ ।

यसैबीच एक स्थानीय वकिलले उनीहरूको विवाहको विषयलाई लिएर उजुरी दर्ता गराएका छन् । समाचार एजेन्सी आईएएनएसका अनुसार जिल्ला विधिक सेवा प्राधिकरणमा दर्ता भएको उजुरीमा विवाहको कारण एक मन्दिरको बाटो अवरूद्ध हुने भन्दै त्यसलाई रोक्न माग गरिएको छ ।

यसअघि स्थानीय प्रशासनले विवाहको समयमा सोमबारदेखि आइतबारसम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ । सडक अवरूद्ध भएकाले हजारौं श्रद्धालु समस्यामा परेको भन्दै स्थानीय वकिल नेत्रविन्द सिंहले सिक्स सेसेन्ज फोर्डका प्रवन्धक, कैटरिना कैफ, विक्की कौशल र जिल्ला कलेक्टरविरूद्ध उजुरी दर्ता गराएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार विवाहमा १२० विशिष्ठ अतिथि आउनेछन् । कबिर खान, निर्माता अमृतपाल सिंह बृन्दा, निर्देशक आनन्द तिवारीलगायत पाहुनाको पनि उपस्थिति हुनेछ । मंगलबारबाट विवाहको औपचारिक कार्यक्रम सुरू हुँदैछ ।

विवाहलाई सलमान खानका बडिगार्डसमेत रहेका शेराको कम्पनीले सुरक्षाको जिम्मा लिएको छ । यसैबीच स्थानीय प्रशासनिक अधिकारीले शुक्रबार जिल्ला कलेक्टर राजेन्द्र किशनको अध्यक्षतामा बैठक बसेर विवाहको सुरक्षाबारे समीक्षा गरेको थियो ।

बैठकमा एसपी राजेश सिंह, एडीएम सुरज सिंह नेगी, इभेन्ट कम्पनीका प्रतिनिधि र होटलका कर्मचारी सहभागी थिए । बैठक भीड नियन्त्रण र सुरक्षा संवेदनशीलतालाई लिएर बसेको थियो । विवाह कार्यक्रममा अधिकांश सेलिब्रेटीको उपस्थिति हुने भएकाले उनीहरूलाई प्रत्यक्ष हेर्न स्थानीयको सहभागीता हुन सक्ने भन्दै सुरक्षा सतर्कताबारे बैठक बसेको थियो ।