द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘चपली हाइट ३’ प्रदर्शन मिति पुनः दुई हप्ता पछाडि सरेको छ । सिनेमा अब पौष ३० गतेबाट प्रदर्शनमा आउनेछ । आइतवार नेपाल चलचित्र संघमा एक निवेदन दिँदै निर्माता अर्जुन कुमारले सिनेमाको रिलिज सारेको जानकारी दिए ।
गत असोज २१ गते हल खोल्दै गर्दा नेपाल चलचित्र संघले तीन महिनासम्म लागू हुने गरी दुई हप्ताको अन्तरमा नेपाली सिनेमा रिलिज गर्ने निर्णय गरेको थियो । तर, पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘कठपुतली’ भन्दा एक दिन अगाडि ‘चपली हाइट ३’ आउने भएपछि निर्माता अर्जुन कुमारलाई सिनेमाको रिलिज नगर्न चलचित्र संघले दबाब दिएको थियो ।
आइतवार नेपाल चलचित्र संघले ‘कठपुतली’ र ‘चपली हाइट ३’ का निर्मातालाई एउटै टेवुलमा राखेर छलफल गराएपछि अर्जुन कुमारले सिनेमाको रिलिज सार्ने निवेदन संघमा बुझाएका हुन् । उनले चलचित्र संघको निर्णयको सम्मान गर्दै बाध्य भएर आफूले सिनेमाको रिलिज सारेको बताए ।
नेपाल चलचित्र संघले पुष २१ गतेसम्म लागू हुने गरी बनाएको नियम र सुविधा ९दुई हप्ताको अन्तरमा नेपाली सिनेमा रिलिज गर्ने, हलमा निःशुल्क ट्रेलर र ब्यानर राख्ने, निर्मातालाई पहिलो हप्ता ५५ प्रतिशत शेयर दिने० आउँदो बैशाख १ गतेसम्मलाई लम्बाएको छ । निर्मातालाई संघका महासचिव अशोक शर्माले सिनेमाको रिलिज मिति घोषणा गर्दा संघमा निवेदन दिन आग्रह गरेका छन् ।



प्रतिक्रिया