द सिनेमा टाइम्स, काठमाडौं – नेपालकै ठूलो सहर, जहाँ बसेका मान्छेहरुको जीवन बाँच्नुभन्दा बढी संघर्षमै बित्छ । ठेलमठेल र भिडैभिडको सहरमा एक मनकारी युवती खुसी (मेनका प्रधान) पनि ठूलो सपना देखेर आउँछिन् ।
कम बोल्ने ‘रिजर्भ’ स्वाभावकी खुसीको नाममात्रै खुसी छ । खासमा हर समय उनी चिन्तित रहन्छिन् । जुन सपना देखेर उनी काठमाडौं आएकी हुन्छिन्, फरक परिवेश सिर्जना भएपछि उनी झनै तनावमा पर्छिन् ।
एक साँझ काठमाडौं महानगरको पट्यारलाग्दो भूमरीबाट कतै जाँदै हुन्छिन्, उनको अगाडि एउटा दुर्घटना हुन्छ । ट्याक्सी र मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार व्यक्ति अचेत हुन्छन् । संयोगले त्यहीं भेट हुन्छन्, आशिष (कर्मा श्रेष्ठ) । जो पेशाले पथ प्रदर्शक हुन्छन् ।
दुर्घटनाको समय अघिसम्म उनीहरु एकले अर्कालाई चिनेका हुँदैनन् । तर, दुवै मिलेर दुर्घटनाका घाइतेलाई अस्पताल र्पुयाउँछन् । सिनेमाको ‘क्यारेक्टर’ निर्माणअनुसार मेनका र दुई फरक स्वाभावका छन् । कविता लेख्ने मेनकाको कम बोल्ने र शान्त स्वाभाव छ भने कर्माको विपरीत छ । उनी हरेक कुरालाई सामान्य रुपमा ग्रहण गरेर वर्तमानलाई ‘इन्जोय’ गर्न चाहन्छन् ।
पोखरामा सोमबार सुरु भएको पाँचौं पामे सिनेमा फेस्टिभलमा देखाइएको सिनेमा ‘महानगर’को कथा हो । अनपेक्षित रुपमा दुई फरक ध्रुवका दुई पात्रको काठमाडौंमा एक रातको कथा हो, ‘महानगर’ ।
‘महानगर’ मिडटाउन ग्यालरीमा सिनेमा प्रदर्शन गरेसँगै महोत्सव सुरु भएको हो । पुस १६ गतेसम्म चल्ने उक्त महोत्सवमा २० देशका ९४ वटा डकुमेन्ट्री तथा सिनेमा प्रदर्शन हुनेछन् । महोत्सवमा लामा छोटा सिनेमा तथा विभिन्न डकुमेन्ट्री प्रदर्शनसँगै विविध विधामा पुरस्कृतसमेत गरिने संयोजक प्रवीण कार्कीले जानकारी दिए ।
महोत्सवमा सिनेमा, डकुमेन्ट्रीका संगीतको स्वाद पनि पस्किइनेछ । संगीतकर्मी झुमा लिम्बु नेतृत्वको रैथाने संगीत समूहको गीति प्रस्तुतिसँगै विभिन्न मौलिक नृत्यसमेत प्रस्तुति गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया