द सिनेमा टाइम्स, काठमाडौं – गत पौष २ गते रिलिज हुने भनिएको सिनेमा ‘चपली हाईट ३’ विदेशी सिनेमा ‘पुष्पा’ र ‘स्पाइडर म्यानः नो वे होम’ नेपालमा आएपछि पौष १५ गतेलाई सारिएको थियो । तर, यो सिनेमाभन्दा अगाडी नै ‘कठपुतली’ले पौष १६ गतेलाई रिलिज डेट तोकिसकेको हुँदा अब पौष ३० गते रिलिज हुने भएको छ ।
आइतबार चलचित्र संघमा बसेको बैंठकमा सिनेमा ‘चपली हाईट ३’ आगामी पौष ३० गतेलाई सारिदिएको थियो । किनकी, चलचित्र निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलको बैंठकले असोज १० गते माघसम्म रिलिज हुने सिनेमालाई पहिलो साता ५५ र दोस्रो साता ५० प्रतिशत सेयर दिइने निर्णय गरेको थियो । अब यो अवधारण चैत्र मसान्तसम्म लागु हुने भएको छ । उक्त बैंठकमा नेपाली सिनेमा एक अर्कासँग जुध्न नपाउने नियम राखिएको थियो ।
‘कठपुतली’सँग ‘चप्पली हाईट ३’ जुध्न आएपछि चलचित्र संघले दुवै सिनेमाका निर्मातालाई बोलाएर नियममा जान आग्रह गरेका थिए । फलस्वरुप, ‘चपली हाईट ३’का निर्माता अर्जुन कुमार २ हप्तापछि सरेका छन् । तर, निर्माता कुमारले रहरले भन्दा पनि बाध्यताले सिनेमाको रिलिज डेट सारेको गुनासो गरेका छन् । उक्त बैंठकमा सिनेमा प्रचारको लागि आफुले बनाएका सम्पूर्ण सामाग्री प्रयोगमा आइसकेको र आगामी २० दिनसम्म के गरेर बस्ने भन्ने चिन्ताले सताएको बताए ।
उनले चलचित्र संघलाई ‘कठपुतली’लाई ८० प्रतिशत शो दिएर ‘चपली हाईट ३’लाई २० प्रतिशत शो दिएर सिनेमा रिलिज गर्न अनुमति मागेका थिए । तर, त्यसो गर्दा चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डको कार्यदलले तय गरेका सेवा सुविधा नपाउने बताएपछि आफुले सिनेमा सार्न चलचित्र संघलाई निवेदन लेखेको उल्लेख गरे ।
निकेश खड्काले निर्देशन गरेको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, आमिर गौतम, लक्ष्मी बर्देवा, दिपाश्री निरौला, अर्पण थापालगायतका कलाकारको अभिनय छ ।



प्रतिक्रिया