सकरात्मक प्रतिक्रियासहित प्रिमियरमा रुचाइयो ‘कठपुतली’

सकरात्मक प्रतिक्रियासहित प्रिमियरमा रुचाइयो ‘कठपुतली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रवारबाट प्रदर्शनमा आउने हरर जनरामा निर्माण गरिएको सिनेमा ‘कठपुतली’को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया मिलेको छ । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरेका थिए ।

प्रिमियरमा उपस्थीत सिनेमाकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको प्रोडक्ट बनेको बताउँदै सिनेमा हेर्दा आफू इमोसनल भएको बताइन् । उनले भनिन्, ‘सिनेमाको छायांकन भइरहँँदा मेरो छोरी ९ वर्षकी थिइन् । उनलाई आफन्तकोमा छोडेर पाल्पा जाँदाको सम्झना सिनेमा हेर्दा झलझली आयो । म आफैंलाई भने सिनेमा राम्रो लाग्यो ।’

अभिनेत्रीद्वय गौरी मल्ल र शिल्पा मास्केले सिनेमामा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए । जितु नेपालले उद्घोषण गरेको प्रिमियर शोमा कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भार्दवाज, नायिका बेनिशा हमाल, मोडल तथा अभिनेता निराजन प्रधान, निर्माता अर्जुन कुमार लगायतको उपस्थिति रहेको थियो । सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका हुन् ।

सिनेमा मिथिला शर्मा, कर्मा र उषामाथि केन्द्रित छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन दरबार छाडेर निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको सिनेमामा मिथिला शर्माको अभिनय बुलन्द छ । कर्मा र उषाले पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै, गौरी मल्ल र शिल्पा मास्केले पनि सिनेमामा आफ्नो प्रभाव छाडेका छन्

सिनेमाको सबैभन्दा बलियो पक्ष भनेको ब्याकग्राउन्ड स्कोर हो । स्तरीय ब्याकग्राउन्ड स्कोरले सिनेमामा प्राण भरेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमको छायांकन पनि प्रशंसायोग्य छ । त्यस्तै, लाइटिङ, फ्रेमिङ र इडिटिङले सिनेमाको कथालाई मर्न दिएको छैन । पहिलो पटक फिचर सिनेमाको निर्देशन गरेका भिमसेन लामाले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् ।

सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय रहेको सिनेमालाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । सिनेमाको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको सिनेमालाई बुधवार साँझबाटै काठमाडौं र मोफसलका मल्टीप्लेक्सहरुले शोज उपलब्ध गराइसकेका छन् । दुइवटा ट्रेलरले सिनेमाको राम्रो हाइप बनाईसकेको छ ।

यता सिनेमाको प्रिमियर शोजमा उपस्थीत निर्देशक तथा निर्माता आकाश अधिकारीले सिनेमाको स्क्रिनप्लेको प्रशंसा गरे । सिनेमा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ‘सम्पदा मल्लको लेखन मलाई असाध्धै मन पर्यो । समग्रमा भन्दा सिनेमाले बाँधेर राख्छ । नेपाली सिनेमा नचलिरहेको अवस्थामा यो सिनेमाले बाटो खोल्छ भन्नेमा म विश्वस्त छु ।’

निर्देशक प्रदीप भट्टराईले सिनेमाको टेक्निकल पक्षको प्रशंसा गरेका छन् । उनले भने-‘नेपाली सिनेमा हेर्दा नयाँ अनुभव गरियो । टेक्निकली एकदमै रिच छ सिनेमा । साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्यूम, अभिनयको कुराले सिनेमा बलियो छ । सिनेमा तर्साउन सफल भएको छ । सिनेमाको माध्यमबाट महिला सशक्तिकरणको कुरालाई पनि उठाइएको छ, जुन कुरा मलाई मन पर्यो ।’

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले सिनेमाबाट टेक्निकलका धेरै कुरा सिक्न सकिने बताइन् । एक्टिङ र स्टोरीले सिनेमा बलियो बनेको उनको भनाई थियो । पहिलो पटक स्वदेशी भूत हेर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । त्यस्तै, निर्देशक तथा सञ्चारकर्मी डिनेश डिसीले सिनेमा समग्रमा राम्रो बनेको र टेक्निकल पक्ष बलियो रहेको बताए ।