फागुन १३ बाट ‘प्रेमगीत ३’ रिलिज पोष्टपोन्ड

फागुन १३ बाट ‘प्रेमगीत ३’ रिलिज पोष्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘प्रेमगीत ३’ पोष्टपोन्ड भएको छ । निर्माण टिमका अनुसार नेपालमा पनि कोरोना भाइरसको तेस्रो लहरको खतरा बढ्दै गएकाले सिनेमाको रिलिज सार्नु परेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोमवार फेसबुकमा एक विज्ञप्ति जारी गर्दै निर्माता तथा निर्देशक सन्तोष सेनले अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै सिनेमाको रिलिज रोकेको जानकारी दिए । उनल फेसबुकमा लेखेका छन्, ‘भारत बजारका वितरक समुहले दिएको सल्लाह-सुझावलाई मनन् गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेकोले नेपाल र भारतमा अलग-अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकोले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्तावलाई स्विकार गर्दै अनिश्चितकालको लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

हिन्दी भाषामा समेत डब गरिएको सिनेमालाई भारतका हलमा प्रदर्शन गरिँदैछ । तर, संक्रमणको तेस्रो लहरका कारण भारतका हलहरु बन्द हुने थालेपछि निर्माण टिमले नेपालको प्रदर्शन मिति पनि स्थगित गरेको बताएको छ । यसअघि २०७६ सालको चैत २८ गतेलाई सिनेमाले प्रदर्शन मिति तोकेको थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि सिनेमा रिलिज हुन पाएको थिएन ।

स्वंर्गिय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यही सिनेमाबाट मनिष राउत र क्रिस्टिना गुरुङले डेब्यू गर्दैछन् । सिनेमालाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।