द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘कठपुतली’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहेको सिनेमाले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन ।
महामारीपछि प्रदर्शनमा आएका नेपाली सिनेमाले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बनेका सिनेमाकर्मीलाई पनि ‘कठपुतली’ को व्यापारले आश जगाएको छ । यसैबीच, पहिलो सप्तान्नसम्मको व्यापारको उत्साहबाट निर्माण टीमले दर्शकलाई आकर्षक उपहार योजना अगाडि सारेको छ । सिनेमा हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये एक जनालाई गोला प्रथाबाट एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिने बताइएको छ ।
योजनामा सहभागि हुन दर्शकले केहि नियम पालना गर्नुपर्ने हुन्छ । एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ, टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ‘क्याप्सन’मा #KATHAPUTALI #WINIPHONE लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना सिनेमाको टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरि उपहार दिईने बताईएको छ ।
भिमसेन लामा निर्देशित सिनेमामा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका सिनेमाका निर्माता पृथ्वी रानामगर हुन भने सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता तथा लेखक सम्पदा मल्ल हुन् ।



प्रतिक्रिया