महाशिवरात्रीमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज घोषणा

महाशिवरात्रीमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको अवसर पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलवार नेपाल चलचित्र संघमा बसेको निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले सिनेमालाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सिनेमाले यो चौथो पटक प्रदर्शन मिति तोकेको हो । २०७६ सालको फागुन २३ गते सिनेमाले पहिलो पटक प्रदर्शन मिति घोषणा गरेको थियो । उक्त मितिमा सिनेमाको पोस्ट प्रोडक्सनको काम नसकिएपछि फागुन ३० गते रिलिज तयारी थियो । तर, प्रदर्शनको संघारमा कोरोना संक्रमण फैलिएपछि अनिश्चितकालका लागि रोकिएको सिनेमाको रिलिज दोस्रो चरणको बन्दाबन्दी अन्त्यपछि माघ १९ गतेलाई घोषणा गरिएको थियो ।

तर, पुनः कोरोना संक्रमण फैलिएको भन्दै सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि सिनेमा रिलिज हुन पाएन । फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते प्रदर्शन गर्न निर्माता र वितरकले ठूलै कसरत गरेका थिए । अन्ततः निर्माण टिम सफल भएको छ । यो मितिमा सिनेमा ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर सिनेमाको कथा लेखेका हुन् । निर्देशक थापा र अभिनेत्री शर्माको लगानी रहेको सिनेमाका सह निर्माता जन्मजय र साम्पाङ्ग राई हुन् ।