दयाहाङ र नम्रता अभिनित छोटो सिनेमा ‘वरदान’ रिलिज

दयाहाङ र नम्रता अभिनित छोटो सिनेमा ‘वरदान’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छोटो सिनेमा ‘वरदान’ इन्टरनेटमा रिलिज गरिएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘वरदान’ बिहीबार गज्जब टिभी युट्युब च्यानलबाट दर्शकमाझ रिलिज भएको हो ।

शुभ मिडिया होमले निर्माण गरेको सिनेमा २४ मिनेट अवधिको छ । नम्रता र दयाहाङले ‘सम्बोधन’ पश्चात दोस्रो पटक सहकार्य गरेका हुन् । विषयवस्तु चित्त बुझेर आफूले यस सिनेमामा काम गरेको नम्रता बताउँछिन् । आत्महत्या रोकथामको विषयलाई उठाएको सिनेमाले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश दिन्छ ।

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा वरदान सिनेमा बन्नुलाई नम्रता निकै नै सकारात्मक पक्ष मान्छिन् । ‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु’ नम्रताले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइलाई सजग बनाउन यस्ता सिनेमाले धेरै योगदान दिनसक्छ ।’

कोभिड-१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू ‘वरदान’को कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए । लकडाउनकै कारण सिनेमा ‘दुई नम्बरी’को सुटिङ रोकेर बसेका लामाले भने, ‘अत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती छोटो सिनेमा बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लागेकाले ‘वरदान’को कामलाई अगाडि बढाएँ ।’

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङ राई छोटो सिनेमा ‘वरदान’मा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाउँछन् । नम्रताको उपस्थितिले सिनेमाको सन्देशलाई अझ गम्भीर र प्रभावकारी बनाएको उनको तर्क रहेको छ । ‘सिनेमामा नम्रताको नै केन्द्रिय भूमिका छ, उनलाई सघाउन पाएकोमा खुसी छु’ दयाहाङले भने ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’मा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।