प्रचारको लागि हल-हलमा ‘म यस्तो गीत गाउँछु २’ टिम

प्रचारको लागि हल-हलमा ‘म यस्तो गीत गाउँछु २’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिम प्रचार-प्रसारमा तीव्र दौडधुप गरिरहेको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन मिति सरेको सिनेमाका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा राजधानीका हल-हलमा पुगिरहेका छन् ।

नेपालमा कलाकार सिनेमा रिलिजपछि दर्शक साक्षात्कार हलमा पुग्ने गरेका थिए । तर, ‘म यस्तो गीत गाउँछु २’ का कलाकारदेखि निर्देशकसम्मले सिनेमा रिलिजभन्दा अगावै हलमा पुगेर माहोल बुझिरहेका छन् । उनीहरुले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै हलका कर्मचारी र म्यानेजरसँग पनि दिनहुँ जसो भेटघाट गरिरहेका छन् ।

सिनेमाको निर्माण टिम सोमबार काठमाडौंका सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका मल्टीप्लेक्स हह पुगेको थियो । हल भ्रमण गर्नुको कारणबारे निर्देशक सुदर्शन थापाले भने– ‘हामी हलहरुको अवस्था के छ र दर्शकहरुले सिनेमाको बिषयमा के भन्नुहुन्छ भनेर बुझ्नका लागि पुगेका हौं । सिनेमा निकै मेहेनतका साथ बनाएकाले दर्शकको ठूलो संख्या हलसम्म पुग्नेमा हामी विश्वस्त छौं ।’

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको सिनेमामा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय रहेको छ । निर्देशक थापा आफैंले लेखेको सिनेमाको कथालाई पटकथा तथा संवादमा शिवम् अधिकारी र दिनेश न्यौपानेले ढालेका हुन् । सौरभ लामाको छायांकन रहेको सिनेमाको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, रेनेश भागोको कलर, शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर, सत्यम राना र दिनेश केपीको भिएफएक्स रहेको सिनेमालाई जिजिए ग्रुपले काठमाडौंभित्र र एफडि कम्पनीले काठमाडौंबाहिर वितरण गर्दैछ ।