‘म यस्तो गीत गाउँछु २’को थारु भाषाको प्रमोशनल गीत रिलिज

‘म यस्तो गीत गाउँछु २’को थारु भाषाको प्रमोशनल गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार-प्रसारलाई आक्रामक बनाउन थालेको छ । सिनेमाको टिमले बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोसनल गीत तयार पारेको छ । उक्त नेवारी गीत बिहिबार सार्वजनिक गरिनेछ ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाइएको छ । भिडियोमा सिनेमाका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् ।

निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावका कारण थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए । पल र पूजाले भने सिनेमामा पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । यी दुई गीतले थारु र नेवारी समुदायलाई सिनेमा हलसम्म आकर्षित गर्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा पूजाले सिनेमाका लागि पल शाहको गरेको साथ-सहयोग र मिहिनेतको खुलेरै प्रशंसा गरिन् । ‘म पललाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । पलले जति सिनेमाका लागि सपोर्ट सायद अरु कलाकार भएको भए गर्दैन थिए होला । कलाकार भनेको निर्मातालाई बुझ्ने हुनुपर्छ,’ पलको तारिफ गर्ने क्रममा पूजा भावुक बनेकी थिइन् ।

सिनेमामा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको सिनेमालाई सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन् ।