‘म यस्तो गीत गाउँछु २’को सुखद् सुरुवात

‘म यस्तो गीत गाउँछु २’को सुखद् सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले सुखद् सुरुवात गरेको छ । वितरक करण क्रेजीले सिनेमाको व्यापार सुखद भएको बताए । सिनेमाको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल-हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थितिराम्रो रहेको जानकारी दिए ।

‘काठमाडौंभित्रका अधिकांश हलमा सिनेमाले सुखद् व्यापार गरेको छ । कारोना महामारीको लामो समयपछि नेपाली हलमा राम्रो सिनेमा रिलिज भएकाले पनि दर्शक फर्किन समय लाग्छ । तर, यो विषम परिस्थितिमा यत्तिको ओेपनिङमा दर्शकको उपस्थिति सुखद् मान्नुपर्छ’ उनले भने ।

सिनेमाको विषयमा प्रतिक्रिया बुझ्न हलमा पुगेकी अभिनेत्री पूजा शर्माले पनि दर्शकको मायाले खुसी लागेको बताइन् । ‘दर्शकले चाहनुभयो भने कसैको पनि केही लाग्दैन । हामीले आशा गरेको भन्दा राम्रो व्यापार भएको छ । आगामी दिनमा दर्शकको माया अझै पाउनेमा विश्वस्त छौं,’ उनले भनिन् ।

निर्देशक सुदर्शन थापाले काठमाडौं बाहिरबाट पनि राम्रो रिपोर्ट आइरहेको बताए । उनले भने, ‘लामो समयपछि हल खुलेकाले पनि हामी अहिले नै धेरै उत्साहित हुँदैनौं । तर हलमा आज बिहानदेखिको दर्शकको उपस्थिति राम्रो छ । सिनेमाले हलमा दर्शकलाई फर्काएको छ । अब विस्तारै सवै राम्रो हुँदै जान्छ भन्ने विश्वास छ । आज हलमा आएका दर्शकको संख्या विस्तारै बढ्दै जाने र सिनेमाले राम्रो व्यापार गर्ने आश छ ।

सिनेमालाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् । ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् ।

सिनेमाका सह निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।