पल शाह मुद्धामा रेखा र ऋचाको टिप्पणी

पल शाह मुद्धामा रेखा र ऋचाको टिप्पणी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केहीदिन यता अभिनेता पल शाहविरुद्ध एक नाबालिग गायिकाले दिएको किटानी जाहेरी चर्चाको विषय बनेको छ । अभनेता पल शाह प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आत्मसमर्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् ।

पल शाह प्रकरणमा सिनेमा क्षेत्र पनि दुई कित्तामा बाँडिएको छ । एकथरी कलाकारहरु नाबालिग गायिकाको विपक्षमा बोलीरहेका छन् । भने अर्कोथरी कलाकार जाहेरी दिएकी नाबालिग गायिकाको पक्षमा उभिए पनि खुलेर बोल्न सकेको छैन । तर, सामाजिक सञ्जालमा घुमाउरो पाराले नाबालिग गायिकाको समर्थन गरिरहेका छन् ।

यसैबीच, अभिनेत्री रेखा थापाले घुमाउरो रुपमा गायिकालाई समर्थन गर्दै फेसबुकमा लेखेकी छन्, ‘२० बर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो ।’ कोसँग लभ छ ? र कति पटक यौन सम्पर्क भयो ? भन्ने कुरा कानुनलाई मतलब नहुने उनले बताएकी छन् ।

त्यस्तै, अर्की अभिनेत्री ऋचा शर्माले पनि मंगलवार फेसबुकमा स्टाटस लेख्दै नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न नहुने बताउँदै कानुनले नाबालिगको संरक्षण गर्नुपर्ने तर्क राखेकी छन् । नाबालिगकै करमा कसैले यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कार ठहरिने र उसैले बोलाएको भनेर कानुनले छुट नदिने उनले फेसबुकमा उल्लेख गरेकी छन् ।