एक सातामा ‘म यस्तो गीत गाउँछु २’को कमाई ५ करोड नजिक

एक सातामा ‘म यस्तो गीत गाउँछु २’को कमाई ५ करोड नजिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले पहिलो हप्ता बम्पर व्यापार गरेको छ । सिनेमाले रिलिजको पहिलो र दोस्रो दिन मात्रै १ करोड ८० लाखको व्यापार गरेको रिपोर्ट निर्माण टिमले दिएको थियो ।

आजबाट दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेमा पहिलो हप्ताको बक्सअफिस रिपोर्ट निर्माण टिमले सार्वजनिक गरेको छ । निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ले पहिलो हप्ता ४ करोड ९५ लाख कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेका छन् । सिनेमाको पहिलो हप्ताको कमाईले निर्माण टिमलाई दोस्रो साता पनि राम्रो कमाई गर्ने आश जगाएको छ ।

सिनेमाको यो कलेक्सन राजधानी र मोफसलको जोडेर सार्वजनिक गरिएको हो । काठमाडौंभित्र वितरणको जिम्मा लिएका करण पहिलो हप्ता जस्तै दोस्रो हप्तामा पनि सिनेमाले आक्रामक व्यापार गर्नेमा विश्वस्त देखिएका छन् । ‘दोस्रो हप्ताको पहिलो दिन पनि विहानको ११ बजेबाट देशभरका हल हाउसफुल छन् । त्यसैले दोस्रो हप्तामा पनि सिनेमाले राम्रो कमाई गर्नेमा आशावादी छौं,’ उनले भने । अब नेपाली सिनेमा क्षेत्र पुरानै लयमा फर्किएको दाबी निर्देशक थापाको छ ।

सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमामा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय रहेको छ । सांगितिक प्रेमकथा वाचन गरेको सिनेमालाई सौरभ लामाले छायांकन गरेका हुन् ।