रविनको आवाजमा ‘चिसो एस्ट्रे’को शिर्ष गीत सार्वजनिक

रविनको आवाजमा ‘चिसो एस्ट्रे’को शिर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘चिसो एस्ट्रे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सिनेमाका मुख्य अभिनेता समेत रहेका वजनदार स्वरका धनी गायक रविन तामाङले परक शैलीमा गीतमा स्वर भरेका छन् ।

रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् । केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए जसको भारतमा निकै चर्चा भएको थियो ।

‘चिसो एष्ट्रे’मार्फत् नेपालमा भने रविन तामाङ लामो समयपछि पर्दामा देखिँदैछन् । रविनकै शब्द तथा संगीत रहेको सिनेमाको शीर्ष गीत शुक्रबार नेपाल सिनेमा क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङ सिनेमाले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए । ‘दिनेशले बनाएको सिनेमालाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।

सिनेमाको टिम र सिनेमा कलेजका विद्यार्थीबीच अन्तक्र्रिया पनि भएको थियो । विद्यार्थी माझ अन्तक्र्रिया गर्दै टिमले आफूहरुले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको बताएका थिए । महेश बाबु तिमल्सिनाको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।

सिनेमामा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।