बैशाख १६ मा सौगात र दीयाको ‘मन्त्र’ रिलिज घोषणा

बैशाख १६ मा सौगात र दीयाको ‘मन्त्र’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौगात मल्ल र दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बीच सिनेमा आगामी बैशाख १६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात र दीयाका अलवा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेका छ । सिनेमाको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको सिनेमामा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायांकन भएको सिनेमामा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ एउटा अर्गानिक सिनेमा रहेको निर्देशक गुरुङले दाबी गरेका छन् ।

दीयाले सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र सिनेमाको पोस्टर फहराउने जानकारी दिइन् । यसै साता बेलायतबाट नेपाल आएकी दीया बैशाखमा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । सिनेमाको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्माण टिमले सगरमाथा आरोहण गर्न लागेकी दीया पुनलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डासहित सिनेमाको पोस्टर हस्तान्तरण गरेको थियो ।