महानायक हमालको स्वरमा ‘गाउँले ठिटो’ रिलिज

महानायक हमालको स्वरमा ‘गाउँले ठिटो’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो रिलीज गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

गीत रिलीज कार्यक्रममा बोल्दै महानायक हमालले आफु गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । विद्यालय जीवन सम्झँदै हमालले भने, ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै बरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ मा पढ्ने बेलासम्म उहाले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । १० कक्षा पुग्ने बेला सम्ममा चाहिँ खै के भयो स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरेको थिईन । अहिले आएर गीत गाउने प्रयास गरेको हुँ ।’

गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ ।

भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन् ।