प्रदर्शन अगावै गरिएको बिषेश शोमा रुचाइयो ‘चिसो एस्ट्रे’

प्रदर्शन अगावै गरिएको बिषेश शोमा रुचाइयो ‘चिसो एस्ट्रे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चिसो एस्ट्रे’को सोमबार बेलुका कुमारी हलमा विशेष प्रदर्शन गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित विशेष प्रदर्शनमा सिनेमाका कलाकार र शैक्षिक परामर्श व्यवसायी सहभागी थिए ।

च्यारिटी शोसमेत गरिएको ‘चिसो एस्ट्रे’को विशेष प्रदर्शनबाट संकलित रकम कोरोना महामारी प्रभावित व्यक्ति र परिवारलाई प्रदान गरिने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाका कलाकार सृष्टि श्रेष्ठ, दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल लगायत बिशेष शोमा उपस्थित थिए ।

निर्देशक दिनेश पाल्पालीले सिनेमा हेरेका दर्शकबाट मिलेको प्रतिक्रियाले आफू उत्साहित भएको बताए । ‘राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने, ‘अब हलमा रिलिज भएपछि दर्शकले दिने प्रतिक्रियाको प्रतीक्षामा छौं ।’ अभिनेत्री सृष्टिले पनि आफूले पनि सिनेमामा ‘इन्जोय’ गरेको बताइन् । ‘मैले पनि हलमा पहिलोपटक हेरेकी हुँ । हेरेपछि राम्रो प्रतिक्रिया मिलेको छ,’ सृष्टिले भनिन् ।

अभिनेता दिव्य देवले सबैखाले दर्शकले सिनेमा रुचाउने विश्वास व्यक्त गरे । ‘गज्जबको प्रतिक्रिया पाएँ, सबैखाले दर्शकले रुचाउन सक्नुहुन्छ,’ उनले भने । इक्यानका पूर्वउपाध्यक्ष समेत रहेका निर्माता महेशबाबु तिमिल्सिनाले विदेशमा रहेका नेपालीलाई पनि सिनेमा मनपर्ने बताए । सिनेमा भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रबिन स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको सिनेमाको सह निर्मातामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा छन् ।