प्रिमियरमा चिसो एष्ट्रे’लाई उत्कृष्ट प्रतिक्रिया, उत्सहित निर्माण टिम

प्रिमियरमा चिसो एष्ट्रे’लाई उत्कृष्ट प्रतिक्रिया, उत्सहित निर्माण टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अगामी शुक्रवारबाट प्रदर्शनको तयारीमा सिनेमा ‘चिसो एष्ट्रे’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । मंगलवार साँझ सुन्धाराको सिभिल मलमा आयोजना भएको प्रिमियरमा सिनेमाकर्मीले निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तुको प्रशंसा गरेका थिए । केही सिनेमाकर्मीले हलिउड स्तरको सिनेमा भन्दै प्रशंसा पनि गरेका छन् ।

नेपाली सिनेमाको प्रिमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमालले ‘चिसो एष्ट्रे’ राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने- ‘विशेषगरी युवापुस्ताले सिनेमालाई बढी रिलेट गर्नुहुन्छ होला । सिनेमामा युवापुस्ताको आकांक्षा, प्राप्ती, हार, जित, मित्रता सबै समेटिएको छ । काठमाडौंमा बस्ने सवैलाई सिनेमाको कथाले छुन्छ । ‘चिसो एष्ट्रे’ सिनेमा पारखीले नछुटाइ हेर्नुपर्ने सिनेमा हो ।’

कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने आफूले नियमित हेर्ने गरेको सिनेमा र अभिनय गर्दै आएको सिनेमाभन्दा ‘चिसो एष्ट्रे’ एकदमै फरक रहेको बताए । कथा भन्ने शैली अझ फरक तरिकाले प्रस्तुत भएकोमा उनले खुसी व्यक्त गरे । त्यस्तै, निर्देशक निश्चल बस्नेतले सिनेमामा सबै पक्ष राम्रो रहेको बताउँदै भिजुअल ल्याङ्वेजलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको टिप्पणी गरे ।

निर्देशक बस्नेतले अगाडी भने- ‘सिनेमामा धेरै पक्ष राम्रो छ । सिनेमामा देखिनेभन्दा सोचिने काम बढी भएको छ । सिनेमामा सिनेम्याट्रिक प्रस्तुति कुन लेभलमा हुनुपर्छ भन्ने ‘चिसो एष्ट्रे’ले देखाउँछ । भिजुअल ल्याङ्वेजलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । हरेक कुरालाई सिनेमामा राम्रोसँग प्रस्तुत गरिएको छ । यद्यपि, केही कमजोरी भने नखड्किने होइन तर सिनेमा जस्तो छ राम्रो छ ।’

निर्देशक प्रदीप भट्टराईले ‘चिसो एष्ट्रे’लाई हलिउड स्तरको सिनेमा भन्न चाहेको उल्लेख गरे । ‘नेपाली सिनेमाको कथावाचन शैलीमा ‘लुट’पछि ठूलो परिवर्तन आएको थियो । अब ‘चिसो एष्ट्रे’ले भिजुअल ल्याङ्वेजमा अर्को फड्को मार्छ भन्ने आश जगाएको छ । नेपाली सिनेमा हलिउड स्टाइलको भएन भन्ने धेरैको गुनासो हुने गरेको छ । यो सिनेमा चाहीँ हलिउड लेभलकै बनेको हो,’ उनले भने ।

कलाकार सन्तोष पन्तले पनि ‘चिसो एष्ट्रे’ हलिउड स्तरको रहेको बताए । ‘सिनेमा हलिउड स्तरको जस्तो छ । युवापुस्ताले सिनेमालाई साह्रै नै मन पराउनेछन् । सिनेमाको स्टाइल एकदमै राम्रो छ,’ उनले भने, ‘कलाकारहरुले जुन-जुन चरित्रमा अभिनय गर्नुभएको छ, त्यसमा पूर्ण न्याय गर्नुभएको छ । हरेक कलाकारको अभिनय लाजबाब छ । सबैले एकपटक सिनेमा हेर्नैपर्छ जस्तो लाग्छ ।’

सिनेमाको प्रिमियरमा कलाकार सन्दिप क्षेत्री, अभिनेत्री ऋचा शर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायक बालेन शाह, अभिनेता महेश त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । प्रियिमरमा सिनेमाकर्मीबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको सिनेमाले काठमाडौंका विभिन्न गल्लीमा बस्ने पात्रको कथालाई देखाएको छ ।

भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको सिनेमामा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिनेश पाल्पालीले निर्देशन गरेको सिनेमाको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको सिनेमाको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।