गोलरक्षक ‘अञ्जिला’को बायोपिकमा दयाहाङदेखि सिर्जनासम्म

गोलरक्षक ‘अञ्जिला’को बायोपिकमा दयाहाङदेखि सिर्जनासम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशनमा सिनेमा ‘अञ्जिला’ निर्माण हुने भएको छ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर निर्माण गरिने सिनेमाको शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।

सिनेमामा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनका अलवा सिनेमामा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ । एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई सिनेमामा जोड दिइने निर्देशक चाम्सले बताए ।

चाम्सले सिनेमाको घोषणा कार्यक्रममा भने, ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई सिनेमामा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई सिनेमामा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिनेछ ।’

सिनेमालाई एन्जिलाको बायोपिक भन्न भने रुचाउँदैनन् निर्देशक चाम्स । उनी अगाडि भन्छन्, ‘एन्जिलाकै कथाबाट सिनेमा प्रभावित छ । ७५ प्रतिशत चाहिँ एन्जिलाकै जीवनी देखाउने छौं । २५ प्रतिशत भने वास्तविक कथासँग जोडिएका अन्य कथाहरुलाई जोड्नेछौं । कसैको आत्मसम्मानमा ठोस नपुगोस् भनेर कथामा केही मोटिफाइड गरेका छौं ।’

खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दैछिन् । आमाकै खातिर पनि सिनेमामा अभिनय गर्न लागेकी उनि अहिले मण्डल थिएटरमा अभिनय सिकिरहेकी छन् । सिनेमामा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन् । उनले कसैको दबाब र प्रभावले सिनेमामा अभिनय गर्न नलागेको पनि स्पष्ट पारेकी छन् । आफ्नो जीवनीमा सिनेमा बन्नु ठूलो उपलब्धि रहेको उनको बुझाई छ ।

निर्माता प्रेम कुमार श्रेष्ठले भने एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई सिनेमालाई देखाइने जानकारी दिए । १३ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए ।

सिनेमा घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सिनेमा र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा राखे । एन्जिलाको जीवनीमा बन्न लागेको सिनेमा खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने मन्त्री गहतराजको विश्वास छ । उनले भविष्यमा अरु पनि खेलाडीको जीवनीमा सिनेमा निर्माण गर्न आग्रह गरेका छन् ।

सिनेमाको घोषणा सभामा खेलकुद सचिव दामोदर भण्डारी, एन्फा अध्यक्ष कर्मा छिरिङ लामा लगायतको उपस्थिति रहेको थियो । केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको सिनेमामा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् ।

विनोद अग्रवाल र राजेश अग्रवाल सह-निर्माता रहेको सिनेमाको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन गरिनेछ । यम थापाको लेखन रहेको सिनेमालाई सुदीप बरालले खिच्ने छन् । सिनेमामा प्रदीप भारद्धाज स्कृप्ट लेखन सल्लाहकारको रुपमा छन् ।