सौगात र दीया अभिनित ‘मन्त्र’ ट्रेलर रिलिज

सौगात र दीया अभिनित ‘मन्त्र’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौगात मल्ल र दीया पुन अभिनित सिनेमा ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

सिनेमाको ट्रेलर कार्यक्रममा सगरमाथा आरोहणको तयारीमा रहेका कारण मुख्य अभिनेत्री दीया पुन अनुपस्थित थिइन् । सार्वजनिक ट्रेलरमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन केन्द्रमा छन् । भिन्न गेटअप र लवजमा प्रस्तुत उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ ।

हिमाली प्रेमकथा भनिएको सिनेमामा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको पनि अभिनय छ । खिल बहादुर गुरुङ निर्देशित सिनेमामा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत रहेको छ ।

ट्रेलर रिलिज कार्यक्रममा सौगातले छायांकनको समयमा निकै गाह्रो भएपनि सिनेमा राम्रो बनेको बताए । ‘सिनेमामा घोडा दौडको दृश्य भएकाले छायांकनभन्दा अगाडि केही दिन घोडा चलाउन सिकेको थिएँ । तर, मेरो भागमा परेको घोडा निकै अटेरी रहेछ । राम्रो बाटो छाडेर भीर-भीर मात्र हिँड्थ्यो । केही पटक लडेँ पनि । पछि त्यही घोडाले मलाई पहिलो बनायो,’ उनले स्मरण गरे ।

बुद्दि तामाङले पनि घोडा सिक्ने क्रममा काँडाघारीमा लडेको घटना सम्झिए । निर्देशक गुरुङ भने ‘मन्त्र’लाई अर्गानिक सिनेमा भन्न रुचाउँछन् । ‘सिनेमा भयंकर छ भन्दिनँ । सिम्पल लभस्टोरीलाई सिम्पल तरिकाले पस्किने इमानदार प्रयास गरेको छु ।’

सिनेमाको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ छन् । गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पमा भएको हो ।