सकियो पल शाहविरुद्धको अनुसन्धान

सकियो पल शाहविरुद्धको अनुसन्धान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाहविरुद्धको अनुसन्धान जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएको छ । २१ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर आज प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

केही समयअघि मात्र अभियोग पत्र आएको छ । हेरेर दर्ता गर्ने तयारीमा छौँ, सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने । एक किशोरीले आफूलाई जबर्जस्ती करणी र यौन दुव्र्यवहारको उजुरी दर्ता गराएपछि फागुन १५ गते कलाकार शाहलाई प्रहरी नियन्त्रणमा लिएको थियो।

प्रहरीले २१ दिनसम्म प्रतिवादी शाह घटनासँग जोडिएका अन्य मानिससँग बयानदेखि अन्य प्रमाण सङ्कलन गरेर सरकारी वकिल कार्यालयमा बुझाएको हो । अब सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययन गरेर चित्त बुझेमा जिल्ला अदालत तनहुँमा शाहविरुद्ध मुद्दा दर्ता गर्नेछ ।

उस्तै प्रकृतिको अर्को घटनामा शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा पनि मुद्दा दर्ता भइसकेको छ । १४ वर्षसम्म कैद र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दावीसहित गत बिहीवार मुद्दा दर्ता भएको हो । शाहले १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको उजुरी दर्ता भएको थियो ।