जिल्ला अदालत तनहुँमा अभिनेता शाहविरुद्ध मुद्दा दर्ता

जिल्ला अदालत तनहुँमा अभिनेता शाहविरुद्ध मुद्दा दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जिल्ला अदालत तनहुँमा अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । शाहले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले २१ दिनसम्म हिरासतमा राखेर शाहलाई अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सोमवार प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सामाजिक संजालमा पोस्ट गरिएको अडियो, शाह र पीडितसँगको बयान लगायत अन्य प्रमाणलाई आधार मानेर पलविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

सरकारी वकिल कार्यालयले पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय माग दाबीसहित अभियोगपत्र दायर भएको जनाएको छ । क्षतिपूर्ति भने उमेर हेरेर माग दाबी गरिने जनाइएको छ । यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई भने पललाई मागिएको सजायको आधा सजाय माग गरिएको छ ।

यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको थियो । नवलपुरमा पनि १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको थियो । १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको अभियोगपत्रमा उल्लेख थियो ।

प्रहरीको अनुसन्धान अनुसार घटना भएको समयमा किशोरीको उमेर १५ वर्ष ८ महिना ४ दिन भएको अनुसन्धानमा देखिएको छ । प्रचलित कानुनले १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्बन्ध राख्नुलाई पनि करणी मानेको छ ।