anmol jasita

‘ए मेरो हजुर ४’को ट्रेलरले बढायो दर्शकमाझ हाइप

‘ए मेरो हजुर ४’को ट्रेलरले बढायो दर्शकमाझ हाइप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गतेबाट ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले सिनेमाभित्रका कन्टेन्ट एक पछि अर्को गर्दै सार्वजनिक गरिरहेको छ । सिनेमाका सार्वजनिक दुई गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि गत साता ट्रेलर सार्वजनिक गरियो ।

४ मिनेट ८ सेकेन्डको ट्रेलरले भने सिनेमाप्रति दर्शकको अपेक्षाको शिखर उच्च बनाएको छ । पूर्ण कमर्शियल रुपमा तयार पारिएको सिनेमाको ट्रेलर उत्कृष्ट बनेको छ । ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रेममा आउने उचार-चढावमा जोडिएका प्रेम र विछोडका संवादले युवापुस्तालाई आकर्षण गरेको छ ।

अनमोलको रोमान्टिक अवतार र सुहानाको बुलन्द अभिनयले सिनेमाप्रति दर्शकको अपेक्षा र कौतुहलता बढाउँछ । गत विहीवार सार्वजनिक भएको ट्रेलरलाई ९ लाख बढीले हेरिसकेका छन् भने तीन हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्टमा अधिकांशले प्रशंसामा शब्द खर्चिएका छन् ।

कतिले अनमोलको अभिनयमा सुधार भएकोमा खुसी व्यक्त गरेका छन् भने कतिले नेपाली सिनेमाले मेकिङमा फड्को मारेको प्रतिक्रिया जनाएका छन् । ट्रेलरले विशेषगरी युवापुस्तालाई आकर्षित गरेको देखिन्छ । हलसम्म दर्शक तान्नका लागि ट्रेलरको महत्त्वपूर्ण हात रहन्छ । त्यसमा सिनेमा निर्माण टिम सफल भएको छ । अब ट्रेलरले बढाएको अपेक्षा पूरा गर्नुपर्ने चुनौती निर्माण टिममाथि छ ।

झरना थापाको निर्देशनमा तयार भएको सिनेमामा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।