‘हेल्लो जिन्दगी’ टिमलाई प्रचारमा सिनेमाकर्मीको साथ

‘हेल्लो जिन्दगी’ टिमलाई प्रचारमा सिनेमाकर्मीको साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आउने सिनेमा ‘हेल्लो जिन्दगी’ले प्रचारमा मुख्य अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंको साथ पाएको छैन । सिनेमाको निर्माण टिमले दुई अभिनेत्रीको उपस्थिति र साथविनै प्रचार प्रसार गरिरहेको छ ।

अघिल्लो हप्ता राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक एभरेष्ट सूर्य बोहोराले पटक-पटक दुई अभिनेत्रीलाई प्रचारमा हिँड्नका लागि आग्रह गर्दा विभिन्न बहाना बनाएको बताएका थिए । तर, निर्देशक बोहोराको यो कुराको दुवै हिरोइनले प्रतिबाद गरका थिए । सिनेमा दुई अभिनेत्रीले लगाएको आरोपको निर्देशक बोहोराले खण्डन गरेका छन् । निर्देशक बोहराले अभिनेत्री प्रियंका कार्कीलाई दिनुपर्ने पारिश्रमिकभन्दा थपेर दिएको दाबी गरे ।

सिनेमाको पूरा छायांकन नगरेको भन्ने प्रियंकाको आरोपबारे निर्देशक बोहोरा भन्छन्, ‘आधा अधुरो सिनेमा भएको भए म आफैं दर्शकसामु सिनेमा रिलिज गर्दैन थिएँ । यो हाइ बजेटमा बनेको सिनेमा हो । त्यस्तो सिनेमालाई आधा अधुरो त टाढाको कुरा एउटा सिन खिच्न पनि कुनै कसर छाडेका छैनौं । स्क्रिप्टले मागेको हरेक एक सिन खिचेका छौं । सिनेमालाई आधा अधुरो भन्नु गलत कुरा हो ।’

सिनेमाको प्रचारलाई दुई अभिनेत्रीले बहिष्कार गरेपनि अन्य सिनेमाकर्मीले भने साथ दिएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘हेल्लो जिन्दगी’लाई साथ दिन कलाकार सन्दिप क्षेत्री र रविन्द्र झा, बुद्धि तामाङ, निर्देशक द्वय शोभित बस्नेत र मिलन चाम्स, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत उपस्थित भएका थिए । उनीहरुले दर्शकलाई सिनेमा हेरिदिन आग्रह गरे ।

विभिन्न सिनेमाकर्मीबाट साथ मिलेपछि खुसी देखिएका निर्देशक बोहोराले अब आफूहरुको साथमा को छैन भन्ने कुराले दुखी हुन छाडेको बताए । अब ‘निर्माता बचाउ अभियान’ सुरु गर्न आवश्यक रहेको बताउँदै उनले भनेका छन्, ‘निर्माता बाँच्यो भने उद्योग बाँच्छ । एउटा सिनेमाबाटै निर्माता हतोत्साहित भए भने सिनेमा कसले बनाउँछ ? त्यसैले निर्मातालाई प्रोत्साहन र सम्मान गर्नुपर्छ ।’

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको यस फिल्मलाई निर्माण टिमले वास्तविक घटनाबाट प्रभावित भनेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ ।