‘पल्पसा क्याफे’बाट स्वस्तिमा बाहिरिएपछि सृष्टिको प्रेवश, बैशाख ९ गतेबाट मञ्चन

‘पल्पसा क्याफे’बाट स्वस्तिमा बाहिरिएपछि सृष्टिको प्रेवश, बैशाख ९ गतेबाट मञ्चन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक अभिनय गर्ने नाटक भनेर प्रचार गरिएको पल्पसा क्याफे बैशाख ९ गतेबाट मण्डला थिएटरमा मञ्चन हुने भएको छ । तर, अहिले नाटकको मुख्य पात्र परिवर्तन गरिएको छ । अहिले स्वस्तिमाको ठाउँमा अभिनेत्री सृष्टि श्रेष्ठ भित्रिएकी छन् ।

सृष्टिले यसअघि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरेकी छन् । सान्दाजुको महाभारत, यार्मा, मालिनीजस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका विमल सुवेदी एक दशकपछि पुनः अभिनयमा फर्किंदैछन् । नाटकमा सृष्टि र विमलसहित दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांश, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको अभिनय छ ।

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त सोही नामको उपन्यासमा आधारित रहेको नाटकलाई थिएटर भिलेजले मञ्चन गर्न लागेको हो । थिएटर भिलेज थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर नाटक प्रदर्शन हुनेछ । सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशन रहने उक्त नाटकको मञ्चनमा ढिलाइ भएसँगै कलाकारमा पनि हेरफेर भएको छ ।

दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैंले गर्ने भएका छन् । अर्को मुख्य पात्र सिद्धार्थको भूमिका दीपेश राईले निर्वाह गर्नेछन् । पटक-पटक नाटक सर्दा कलाकारलाई जुटाउन समस्या भएको कास्टिङ निर्देशक समेत रहेका रानाभाटले जनाए ।

नारायण वाग्लेद्वारा लिखित ‘पल्पसा क्याफे’ नेपालको चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रान्सेली, कोरियाली तथा सिंहला भाषामा समेत अनूवादित छ । एक दशक लामो सशस्त्र द्वन्द्व वरपर रहेर एक पेन्टरको कथा प्रस्तुत गर्ने पुस्तकले तत्कालीन परिवर्तनशील समाजको कथालाई सरलीकरण गरेर चर्चा बटुलेको थियो ।

सशस्त्र युद्धमा सहभागी भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले देखेको युद्धको परिवेशलाई उपन्यासले पेस गर्छ । निर्देशक सुवेदीले १५ वर्षपछि उपन्यासतिर फर्किंदै त्यसबेला उठाएका विषयलाई वर्तमान समयमा विवेचना गर्न लागेको जानकारी दिए ।