‘ग्रहण’को निर्माण घोषणा, मुख्य भुमिकामा विनय र नम्रता

‘ग्रहण’को निर्माण घोषणा, मुख्य भुमिकामा विनय र नम्रता

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौं – राजीव गुरुङको निर्माण तथा निर्देशनमा नेपाली सिनेमा ‘ग्रहण’ निर्माण हुने भएको छ । आइतबार सिनेमाको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।

घोषणा समारोहमा सिनेमाको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको छ । सिनेमामा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । थ्रीलर ड्रामा जनरा रहने सिनेमा रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुनेछ । सिनेमाको भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन गरिनेछ ।

सिनेमाको घोषणा कार्यक्रममा सिक्किम सिनेमा प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, सिनेमामा अभिनय गर्ने कलाकार, निर्देशक राजीव गुरुङ, प्रोडक्सन कोऑर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो ।

सिक्किममा छायांकन गरिने सिनेमाले दुबै देशको पर्यटनमा सघाउने मन्त्री शर्माको विश्वास छ । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यही अनुरुप सिनेमा बोर्ड, सिनेमा नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ सिनेमा छायांकन गर्छन् । उनीहरुले एक करोड रुपैयाँ पाउने छन्’ मन्त्री शर्माले भने ।

सिनेमाको बारेमा बोल्दै अभिनेता विनयले ‘ग्रहण’ लभ थ्रिलर सिनेमा रहेको बताए । सिनेमाको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो सिनेमा ‘सोल सिस्टर्स’ले सिक्किममा छायांकन गरेको सम्झिन् । ‘मैंले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । सिनेमामा मेरो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको हो । सिनेमाको कथा लभ, थ्रील, ड्रामा मिश्रित भएकाले मैंले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन् ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । सिनेमामा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको पटकथा तथा संवाद र निर्देशक गुरुङ कथाको रहेको छ । निर्देशक गुरुङले अन्य कलाकार तथा प्राविधिकलाई छिट्टै छनौट गरिने बताए ।