शिवहरी पौडेल निर्देशित ‘लक्का जवान’को ट्रेलर रिलिज

शिवहरी पौडेल निर्देशित ‘लक्का जवान’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हास्य कलाकार शिवहरी पौडेल निर्देशित सिनेमा ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक भएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ । सिनेमाले अधवैंसे पुस्ता र तन्नेरी पुस्ताबीचको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

३ मिनेट २२ सेकेन्ड लम्बाईको ट्रेलरमा निर्देशक पौडेलले रोना-धोनालाई पनि समेटेका छन् । बैशाख २३ गतेबाट प्रदर्शनमा आउने सिनेमामा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद र निर्देशक पौडेल स्वयंको छ । अन्सुया श्रेष्ठ निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । सिनेमाको सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सिनेमाका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘लक्का जवान’ यसअघि २०७६ सालको चैत २१ गते प्रदर्शनमा आउने तयारीमा थियो । प्रदर्शनलाई मध्यनजर गर्दै निर्माण टिमले दुईवटा गीत समेत सार्वजनिक गरेको थियो । तर, कोरोना महामारी फैलिएपछि सिनेमा प्रदर्शनमा आउन सकेको थिएन् ।