दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ निर्माण घोषणा

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी तथा सोसल ड्रामा सिनेमा ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।

कोरोना महामारी अघि यही शीर्षकमा सिनेमा निर्माणको घोषणा गरिएपनि हाल निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको मंलबार राजधानी आयोजित कार्यक्रममा निर्माण टिमले जानकारी दिएको हो । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित सिनेमालाई अघि बढाइएको जानकारी दिए ।

वैशाख तेस्रो सातादेखि सुरु हुने सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकाभित्रै गरिनेछ । निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।

प्रेसमिटमा निर्देशक खनालले भने, ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्य ढंगले सिनेमा निर्माण हुनेछ ।’ अभिनेता राईले धेरै समयपछि आफ्नो सिनेमा काठमाडौंमै छायांकन हुन लागेको भन्दै मनोवैज्ञानिक रुपमा आफ्नो चरित्र नयाँ भएको बताए । अभिनेता कार्कीले निर्देशक खनाल र को-स्टारसँग सहकार्य हुनुले सिनेमाको गुणस्तर राम्रो हुने बताए ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको सिनेमालाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको जानकारी दिइयो ।

यसअघि यो सिनेमालाई रंग पत्रकार सुब्रत राज आचार्यले निर्देशन गर्ने गरी निर्माण घोषणा गरिएको थियो ।