anmol jasita

‘ए मेरो हजुर ४’ले दर्शक निराश बनाउँदैन् : अनमोल केसी

‘ए मेरो हजुर ४’ले दर्शक निराश बनाउँदैन् : अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’को प्रचारमा रहेका अभिनेता अनमोल केसीले सिनेमाको ट्रेलरमा निर्माताले सबै पक्ष नसमेट्ने बताएका छन् ।

 

‘ट्रेलरले सिनेमाको झल्को दिन्छ नै तर त्यसकै आधारमा धेरै धारणा बनाउनु हुन्न किनकि ट्रेलर त झलक मात्र हो, सिनेमा बाँकी नै हुन्छ’, अनमोलले बताए । अनमोलले आफू कलाकारको रूपमा थोरै भए पनि इभल्भ महसुस गरेको सुनाए ।

‘कथा नयाँ नभएता पनि त्यसलाई प्रस्तुत गर्ने शैली नयाँ छ । जसरी कथालाई प्याकेजिङ गरिएको छ, त्यसले यो सिनेमालाई इन्टरटेनिङ बनाएको छ,’ उनले भनेका छन् । अनमोलले यस सिनेमामार्फत अभिनयमा केही भेरियसन ल्याउने प्रयास गरेका छन् । सार्वजनिक ट्रेलरमा उनलाई प्रेमीको रूपमा प्रस्तुत गरिएको छ । उनले सिनेमाकै लागि कपाल काटेका छन् ।

निर्माता सुनिलकुमार थापाले अनमोलले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिन थालेको भन्दै प्रशंसा गरे । उनले ‘ए मेरो हजुर ४’मा अनमोलले गरेको कामले उनको अभिनयलाई लिएर हुने आलोचकको मुख बन्द गर्ने बताए । सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् ।

सिनेमा ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।