‘ए मेरो हजुर ४’ हेर्न उर्लिए दर्शक, देशभर हाउसफुल

‘ए मेरो हजुर ४’ हेर्न उर्लिए दर्शक, देशभर हाउसफुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबारबाट नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ४’ हेर्न दर्शक हलमा उर्लिएका छन् । वितरक गोविन्द शाहीका अनुसार विहानी शोबाटै हलमा दर्शक सिनेमा हेर्न उर्लिएका हुन् ।

सिनेमा हेरेका दर्शकले मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको अभिनयको तारिफ गरेका छन् । बिहिबार राजधानी स्थित अष्टनारायण, आईएनआई लोत्से र बिग मुभिजमा पुग्दा हलमा दर्शक भरिभराउ देखिए । हलमा सिनेमाका मुख्य कलाकार सिनेमाको टिम पुग्दा दर्शक उत्साहित हुँदै ‘ए मेरो हजुर ४’ को शिर्ष गीत गाएका थिए ।

अभिनेत्री तथा निर्देशक झरना थापाले लामो समयदेखि आफु र आफ्नो टिमले गरेका मेहनतको फल पाउँदा आज निकै खुशी लागेको उल्लेख गरिन् । विभिन्न दबाबका बावजुद पनि हामीले सिनेमा रिलिज गर्ने हिम्मतको दर्शकबाट सम्मान मिलेको निर्देशक थापाले बताइन् । निर्माता सुनिल कुमार थापाले पनि दर्शकले नेपाल नयाँ वर्षमा विदेशीभन्दा पनि नेपाली सिनेमा नै हेर्न रुचाएको पुष्टी भएको बताए ।

झरना थापा निर्देशित सिनेमामा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्वर्गिय निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।