द सिनेमा टाइम्स, काठमाडौं – जुम्लाको पटमारा गाउँबाट निर्देशक शोभित बस्नेतले नयाँ सिनेमा ‘हाम्रो स्वर्ग’को छायांकन सुरु गरेका छन् । शुक्रवारबाट छायांकन सुरु भएको सिनेमाको मुख्य भूमिकामा नयाँ कलाकारलाई स्थान दिएका छन् ।
सिनेमामा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको अभिनय रहनेछ । ज्ञान कुमार कट्टेल छायाँकार रहेको सिनेमालाई गौतमराज खड्काले सम्पादन गर्नेछन् । निर्देशक बस्नेतले सिनेमामा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई उठान गरिने जानकारी दिए ।
सिनेमाले एउटा पृथक र वास्तविक कथा भन्ने उनको भनाई छ । कर्णाली क्षेत्रको भाषा तथा भेषभुषा र रहनसहनलाई समेत प्रस्तुत गरिने सिनेमाको कर्णाली प्रदेशको १० वटै जिल्लामा छायांकन गरिनेछ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने सिनेमामा शान्ता शर्माको लगानी रहनेछ ।
सिनेमामा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा छ । निर्देशनमा शोभितलाई मुख्य सहायक निर्देशक रामजी राउतले सघाउनेछन् । शोभित बस्नेतले ‘हाम्रो स्वर्ग’पछि द्धन्द्व निर्देशक तथा अभिनेता राजेन्द्र खड्गीले निर्माण गर्ने ‘सेभेल भिलेन’को निर्देशन गर्नेछन् ।


प्रतिक्रिया