क्यामेरा अन भएको ४० औं दिनमा ‘परस्त्री’को इन्डक्ल्याप

क्यामेरा अन भएको ४० औं दिनमा ‘परस्त्री’को इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज पाण्डे डेव्यु निर्देशित सिनेमा ‘परस्त्री’को सम्पूर्ण छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ४० दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए । मुस्ताङबाट सिनेमाको छायांकन सुरु भएको थियो । सिनेमालाई आउँदो कात्तिक ६ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिमको छ ।

निर्माता तथा निर्देशक दीपेन्द्रले सिनेमाको कथा लेखेका हुन् । सिनेमाको छायांकन अवधिभर उनी सेटमै थिए । तर, आफूले सुरजलाई क्रिएटिभ पार्टमा कुनै दख्खल नदिएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले स्क्रिप्ट उसलाई बुझाएपछि सेटमा म क्रिएटिभ पार्टमा छिरिनँ । सुरजले आफ्नै हिसाबले काम र्गयो । यसपटक मैले प्रोडक्सनको पार्ट मात्र हेरेँ ।’

सुरजले यही सिनेमाबाट निर्देशनमा डेब्यू गरेका हुन् । दीपेन्द्रले सिनेमा ‘लभ लभ लभ’बाट उनलाई अभिनेताको रुपमा डेब्यू गराएका थिए । सुरजको कामबाट आफू सन्तुष्ट रहेको दीपेन्द्रको भनाई छ । उनी भन्छन्, ‘मैले फुटेज हेर्दा गजब लागेको छ । एउटा सिन पनि कम्प्रमाइज नगरी सुरजले सिनेमा खिचेको छ । फुटेजहरु हेर्दा मैले जस्तो सोचेको थिएँ त्यो आएको छ भन्ने लागेको छ ।’

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमाकी निर्मात्री शर्मिला पाण्डे हुन् । सिनेमामा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकार मुख्य भूमिकामा छन् । निरज कँडेलले सिनेमाको छायांकन हुन् । थ्रिलर जनरामा निर्माण भएको सिनेमाले एक विवाहित पुरुषको अफेयरको कथा भन्ने छ । सिनेमाको नेपाली र हिन्दीमा एकसाथ छायांकन गरिएको छ ।