दीपेन्द्र निर्देशित ‘२ नम्बरी’ छायांकन सकियो

दीपेन्द्र निर्देशित ‘२ नम्बरी’ छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘२ नम्बरी’ को छायांकन सकिएको छ । वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको सिनेमालाई पोखरा आसपासमा छायांकन गरिएको थियो ।

सिनेमाको क्यामेरा अन भएको २८ औं दिनमा पोखरामा इन्डकल्याप भएको निर्माण पक्षले जनाएको छ । छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौँ फर्किने तयारीमा छन् । दीपेन्द्र लामाले निर्देशन गरेको सिनेमामा उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय रहेको छ ।

कोरोना महामारीले प्रभावित भएको सिनेमा छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः छायांकन सुरु भएको थियो । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा सिनेमा छायांकनमा थियो । यद्यपि सिनेमा पहिलो सिनबाटै छायांकन गरिएको निर्देशक लामाले बताए ।

सिनेमाको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र सिनेमाका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले सिनेमाको छायांकन सुरुवातबाटै गरिएको थियो । सिनेमामा पलको स्थानमा सौगात मल्ल, वर्षा रावतको स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ ।

मित्रताको कथा पेश गर्ने सिनेमा आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । राजीव गुरुङ र अमलादेवि राई निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।