जेष्ठ ६ बाट ‘सम्झना बिर्सना’ रिलिज पोस्टपोन्ड

जेष्ठ ६ बाट ‘सम्झना बिर्सना’ रिलिज पोस्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सम्झना बिर्सना’को रिलिज पोस्टपोन्ड भएको छ । प्रचार-प्रसारका लागि समय अभाव भएको र बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन माहोललाई मध्यनजर गर्दै पूर्वनिर्धारित मितिमा सिनेमा प्रदर्शन नगर्ने निर्णय निर्माण टिमले गरेको हो ।

 

मंगलवार दिउँसो ४ बजे सिनेमाको शिर्ष गीत सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, वितरक र निर्माताबीच तत्काललाई सिनेमाको प्रदर्शन मिति स्थगित गर्ने सहमति भएपछि अब प्रदर्शन मितिसहित गीत सार्वजनिक गरिने निर्देशक निमेष प्रधानले बताए । यो सिनेमाको रिलिज स्थगित भएसँगै जेठ ६ मा रिलिज हुने सिनेमा ‘लाइफ इन एलए’लाई राहत मिलेको छ ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको सिनेमामा आदित्य प्रधान र रेविका प्रधानको लगानी छ । सिनेमाको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सिनेमामा पूजा शर्मा र आकाश श्रेष्ठका अलावा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेका ।

आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा कोरोना महामारीभन्दा अगाडि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको थियो । सिनेमामा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको नृत्य निर्देशन रहेको छ । शिशिर राणा र निमेष प्रधानले मिलेर सिनेमाको संवाद लेखेका छन् ।