‘कबड्डी ४’ले ५ दिनमा कमायो १२ करोड ५५ लाख ग्रस कलेक्सन

‘कबड्डी ४’ले ५ दिनमा कमायो १२ करोड ५५ लाख ग्रस कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ले ५ दिनमा १२ करोड ५५ लाख ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए । प्रदर्शनको चार दिनसम्मको कमाई झण्डै ११ करोड रहेको भन्दै उनले मंगलवार पनि सिनेमाले देशभर १ करोड ६० लाख ग्रस कलेक्सन गरेको बताए ।

बुधवार पनि सिनेमा देशभर हाउसफुल छ । सिनेमाको व्यापार रकेटको गतिमा अगाडि बढेको छ । ‘कबड्डी ४’ नेपाली सिनेमाको इतिहासमा सर्वाधिक कमाउने सिनेमा बन्नेमा लगभग निश्चित रहेको वितरक शाही बताउँछन् । माउथ पब्लिसिटी बलियो भएकाले हलमा दर्शक नघटेको दाबी उनको छ ।

प्रदर्शनको ५ दिनमा १२ करोड कमाउने पहिलो नेपाली फिल्म बनेको ‘कबड्डी ४’ले बुधवारको कमाईबाट आफ्नै तेस्रो सिरिजको १३ करोडको रेकर्ड तोड्ने देखिन्छ । ‘कबड्डी ४’को कमाईको रफ्तार हेर्दा दोस्रो हप्ताको विकेन्डमा नेपालीको सर्वाधिक कमाउने सिनेमा बन्ने सम्भावना रहेको वितरक शाही उल्लेख गरे ।

‘कबड्डी ४’ले तुफानी व्यापार गर्नुलाई बलियो स्टारकास्ट, प्रचार, ट्रेलर र ‘केशरी’ गीतले पाएको हाइप प्रमुख कारण मानिएको छ । दर्शकको ठूलो जमातले सिनेमा रुचाएको छ । तर, समीक्षकबाट मिश्रित रिभ्यू आएको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ ।