बक्सअफिसमा ‘कबड्डी ४’को पहिलो हप्तामा १५ करोड ग्रस कलेक्सन

बक्सअफिसमा ‘कबड्डी ४’को पहिलो हप्तामा १५ करोड ग्रस कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४’ले बक्सअफिसमा आक्रमक व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित सिनेमाले बक्सअफिसमा नयाँ रेकर्ड कायम गरेको हो । सिनेमाले अत्याधिक शो पाउने, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनिङ गर्ने रेकर्ड राखिसकेको छ ।

सिनेमाले प्रदर्शनको पहिलो दिन ३ करोड ५ लाख ग्रस कलेक्सन गरेको थियो । त्यस्तै सिनेमाले एक हप्तामा सर्वाधिक व्यापार गर्ने रेकर्ड पनि राखेको छ । वितरक गोविन्द शाहीका अनुसार ‘कबड्डी ४’ले एक सातामा १५ करोड कमाएको छ । सिनेमाले अहिले पनि दर्शकको राम्रो साथ पाइरहेको छ । सिनेमाले पहिलो हप्तामा १५ करोड कमाउँदै बक्सअफिसमा रेकर्ड राखेको वितरक शाही बताए ।

कबड्डी ४ हालसम्मकै छोटो समयमा धेरै व्यापार गर्ने सिनेमा बनेको छ । सिनेमाले प्रदर्शन अगाडि नै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको थियो । समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।