‘विश्वजीतम्’ नाममा भारतमा ‘प्रेमगीत ३’ रिलिज हुने

‘विश्वजीतम्’ नाममा भारतमा ‘प्रेमगीत ३’ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता सन्तोष सेनले पहिलो पटक नेपाली सिनेमा ‘प्रेमगीत ३’लाई हिन्दी भाषामा डब गरेर भारतका हलमै प्रदर्शन गर्ने भएका छन् । उनको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘प्रेमगीत ३’ हिन्दी भाषामा भारतका हलमा प्रदर्शन हुने तयारीमा छ ।

कोरोना महामारीले नेपालमा सिनेमाको रिलिज रोकिएपछि निर्माता सेनले ‘प्रेमगीत ३’लाई हिन्दीमा डब गरेर भारतमा पनि प्रदर्शन गर्ने निर्णय गरेका थिए । यसका लागि उनले करीब १ वर्ष मुम्बई बसेर सिनेमाको हिन्दी डबिङ र सम्पादनको काम सकेका हुन् । अब सिनेमा हिन्दी भाषामा प्रदर्शनका लागि तयार छ भने इम्पोसिबल फिल्मस्ले भारतको प्रदर्शन अधिकार पनि खरिद गरिसकेको छ ।

लामो समयदेखि ‘प्रेमगीत ३’लाई कुन नाममा भारतमा प्रदर्शन गर्ने भन्नेमा वितरक कम्पनी र निर्माण टिम अन्योलमा थियो । अन्ततः सिनेमाको हिन्दी नाम जुरेको छ । ‘विश्वजीतम्’ नाममा सिनेमा भारतमा प्रदर्शनमा हुने जानकारी निर्माता सेनले फेसबुकमार्फत् दिएका छन् । उनले इन्डियन मोसन पिक्चर प्रोडुसर्स एसोसियसनमा सिनेमाको नाम दर्ता भएको पत्र पनि सार्वजनिक गरेका छन् ।

सेनले चाँडै ‘विश्वजीतम्’ नामसहितको पोस्टर र भारतका लागि प्रदर्शन मिति घोषणा गरिने जानकारी दिएका छन् । नेपालमा भने ‘प्रेमगीत ३’ आगामी असोज ७ गते प्रदर्शनमा आउँदैछ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।