‘प्रकाश’बाट दीया मास्केको ‘सीता’ लुक्स सार्वजनिक

‘प्रकाश’बाट दीया मास्केको ‘सीता’ लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘प्रकाश’ टिमले अभिनेत्री दीया मास्केको चरित्र पोस्टर सार्वजनिक गरेको छ । बुधवार उनले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै सिनेमामा आफू सीताको चरित्रमा रहेको उल्लेख गरिकी छन् ।

प्रकाशको पोस्टर शेयर गर्दा मन ढक्क फूलेको लेखेकी छन् । सिनेमामा उनले जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । सिनेमा यसअघि सार्वजनिक फस्र्टलुक पोस्टर र टिजरमा उनको गेटअपको धेरैले तारिफ गरेका थिए । सार्वजनिक पोस्टरमा उनी जुम्लेली लुक्समा प्रस्तुत छिन् भने काँधमा हलो र जुवा बोकेर गोरु धपाउँदै गरेको देख्न सकिन्छ ।

 

उनले लेखेकी छन्, ‘सिनेमामा साहित्य चेत बढेसँगै सिनेमा अभिनयमा पनि गहिराई आउन थालेको छ । महिला पात्रहरु विस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, सिनेमा न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो ‘प्रकाश’ सिनेमाको प्रतिनिधि पात्र ‘सिता’। उनले दीयाबाट सीता बनिरहँदा छायांकन स्थलमा रहेर जुम्लाको भाषा सिक्न र त्यहाँको रहनसहनसँग बानी पार्न सजिलो नभए पनि कठिन महशुस पनि नभएको उल्लेख गरेकी छन् ।

गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु रहेको उनको तर्क छ । अभिनेत्री मास्के अगाडि लेखेकी छन्, ‘कथा छनौट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिले काहीँ त झन्, हाम्रा सिनेमामा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतित हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ ।’

सिनेमामा आफूले गरेको कामको बारेमा अहिले नै बोल्ने हतार हुने भए पनि एकपछि अर्को सशक्त भूमिकाद्वारा सिनेमालाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई आख्यानमा स्थापित गर्न थलिएकोमा खुशी व्यक्त गर्दै उनले अब नेपाली सिनेमामा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताएकी छन् ।

दिनेश राउत निर्देशित सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् । सिनेमामा प्रदीप खड्का, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेनटको ब्यानरमा निर्माण भएको सिनेमामा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।