‘म यस्तो गीत गाउँछु २’ जुलाई ९ मा सिड्नी रिलिज हुँदै

‘म यस्तो गीत गाउँछु २’ जुलाई ९ मा सिड्नी रिलिज हुँदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा गत वर्षको फागुन १३ गते रिलिज भएको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ अष्ट्रेलियाको सिड्नीमा रिलीज हुने भएको छ । आगामी जुलाई ९ तारिखको दिन सिभिक थियटरमा सिनेमा देखाईने अष्ट्रेलियाको इभेन्ट म्यानेजमेन्ट कम्पनि कलर्स अफ नेपालका बिक्रम पौडेलले बताए ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमा वितरण गर्दै आएको कम्पनी नेपसिने र कलर्स अफ नेपालको सहकार्यमा सिड्नीमा रिलीज हुन लागेको नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले बताए । नेपसिनेले नेपाल, हङकङ र युके बाहेकका अन्य देशमा सिनेमाको प्रदर्शन अधिकार लिएको छ । सिड्नीमा अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाका साथै वितरक विधान कार्की र दिपेन्द्र कार्की पनि सहभागि हुने बताईएको छ ।

सिनेमाको सहकार्यसँगै नेपसिने र कलर्स अफ नेपालबीच अष्ट्रेलियामा अन्य विभिन्न कार्यक्रम एकसाथ गर्ने सहमति भएको पनि पौडेलले जनाए । सिड्नी प्रदर्शन अगावै सिनेमाको अष्ट्रेलियाको मेलवर्नमा जुलाई ५ तारिखको दिन प्रदर्शन हुनेछ । सिनेमालाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र सिनेमाको निर्माण टिमसँग सम्पर्क गर्न सकिने कार्कीले जानकारी दिए ।

सांगीतिक लभ स्टोरी कथामा निर्माण भएको सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा सिनेमाका निर्माता तथा निर्देशक हुन् । जन्म जय साम्पाङ राई सह-निर्माता रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।