anmol jasita

फुटबल र माओवादी सशस्त्र युद्धको कथा ‘दोख’को ट्रेलर रिलिज

फुटबल र माओवादी सशस्त्र युद्धको कथा ‘दोख’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनुप बरालको निर्देशनमा तयार भएको सिनेमा ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट २४ सेकेन्ड लम्बाईको ट्रेलरमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिता र माओवादी सशस्त्र युद्धको परिवेशलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले सिनेमाप्रति उत्सुकता पैदा गर्न सफल देखिन्छ ।

सिनेमामा खेलमार्फत तत्कालीन राजनीति र समाजको विश्रृंखलतालाई माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यमा कथाको रुपमा पेश गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई सिनेमामा देखाइएको निर्देशक बरालले बताए । यो सिनेमा निर्माणको ७ वर्षपछि सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

राजन कठेत लिखित सिनेमामा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।

असोर २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई छन् । सिनेमालाई जिजिए ग्रुप र डिसीएनले काठमाडौंभित्र र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।