anmol jasita

भदौ २४ मा रिलिज हुने ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर

भदौ २४ मा रिलिज हुने ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गोर्खा सेनाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित सिनेमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको एक युद्धमा देखाएको बहादुरीको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।

प्रदीप शाहीको निर्देशनमा बनेको सिनेमामा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । सिनेमाको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर सिनेमा निर्माण गर्दै आएका शाहीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् । सिनेमाको निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि सिनेमाको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ गरिनेछ । नेपालमा सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन सिनेमा निर्माण गरेको जानकारी दिए । त्यस्तै, निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित सिनेमामा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताए । सिनेमामा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।