नेपाल-अमेरिका सिनेमा महोत्सवमा ‘हल्कारा र गड्स बफेलो’ उत्कृष्ट

नेपाल-अमेरिका सिनेमा महोत्सवमा ‘हल्कारा र गड्स बफेलो’ उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल-अमेरिका सिनेमा महोत्सव’मा ‘हल्कारा’ले उत्कृष्ट कथानक सिनेमाको विधामा जित हासिल गरेको छ । विक्रम सापकोटा निर्देशित सिनेमाले यसअघि पनि केही अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । आइतबार सम्पन्न फेस्टिभलको पाँचौं संस्करणमा माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ले उत्कृष्ट डकेमेन्ट्री अवार्ड जित्यो । महोत्सवको मञ्चमै पुगेर ‘हल्कारा’ निर्देशक सापकोटाले अवार्ड उचाले ।

‘वृक म्युलु’ पहिलो पटक स्क्रिनिङ गरिएको थियो । नेपाली पानारोमा अन्तर्गत मोहन राई निर्देशित फिचर सिनेमा ‘वान नाइट इन काठमाडौं’ले अवार्ड जित्यो । सर्ट सिनेमा विधाको पुरस्कार विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ले जित्यो । अमेरिकाको मेरिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा जुन २३ देखि चार दिनसम्म फेस्टिभल आयोजना भएको थियो ।

नेपाल-अमेरिका सिनेमा महोत्सवको उद्घाटन मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारी र कला तथा योजना आयोगका संयोजक फिल्ड डेबिजले गरेका थिए । जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु सिनेमा ‘द लिप रिडर’ स्क्रिनिङपछि महोत्सव समापन गरिएको छ ।

फेस्टिभलमा नेपाल, अमेरिकासहित १२ देशका ३८ सिनेमा प्रदर्शन गरिएका थिए । उत्कृष्ट सिनेमालाई निर्णायकले पुरस्कार घोषणा गरे । नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायकको रुपमा थिए ।

यस वर्ष नेपालबाट कान्स सिनेमा महोत्सवमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिएको थियो । नेपाल-अमेरिका सिनेमा सोसाइटीले आयोजना गरेको महोत्सवमा सिनेमा प्रदर्शनपछि निर्माता-निर्देशक तथा कलाकारसँग छलफल समेत गरिएको थियो ।