बर्गिय विभेदको कथा ‘प्रकाश’ गीत ‘जोर मैना’ सार्वजनिक

बर्गिय विभेदको कथा ‘प्रकाश’ गीत ‘जोर मैना’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । डिएआर मुभिजबाट सिनेमाको गीत सार्वजनिक गरिएको हो ।

जुम्म्लाको परिवेशमा छायाँकन भएको सिनेमाको गीतले मुख्य दुई पात्र विचको प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदिप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् । सिनेमाले बर्गिय विभेदको विषय प्रस्तुत गरेको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गिय विभेदकै विषय उठान गरेको बुझ्न सकिन्छ ।

सिनेमाका दुई मुख्य पात्र प्रदिप खड्का र रेणु योगीका माध्यमबाट गीतले बर्गिय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ । गीतको बिचमा सम्बाद मार्फत वर्गिय विभेदका कारण युवतिको परिवार समेत उनीहरुको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । युवतिको बुबाले बोलेको – ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सिप छ, न जागिर, त्यो सँग बिहे गरिस भने त्यही समाजले तलाई भोलि हेला गर्नेछ ।’

सिनेमाको गीतमा समावेश सम्बादले पनि समाजका बिभिन्न तहहरुमा जस्तै प्रेममा पनि वर्गिय असमानताको असर देखाएको छ । सिनेमामा दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।