सुदर्शनको निर्देशनमा ‘प्रसाद २’को निर्माण घोषणा

सुदर्शनको निर्देशनमा ‘प्रसाद २’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भुमिका रहने सिनेमाको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।

२०७५ सालमा प्रदर्शनमा आएको व्यवसायिक तथा समिक्षागत हिसाबले सफल सिनेमा ‘प्रसाद’को सिक्वेलको रूपमा ‘प्रसाद २’ बन्न लागेको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेल निर्देशन नगर्ने राउतको निर्णयलाई सम्मान गर्दै निर्माण टिमले सुदर्शनलाई निर्देशनको जिम्मेवारी सुम्पेको हो ।

सुशील पौडेलको लेखनमा निर्माण हुने सिनेमाबाट मेडिकल व्यवसायी केशव पाण्डेले सिनेमा निर्माणमा हात हालेका छन् । निर्माता सुभाष थापासँग पाण्डेले सिनेमाको निर्माणमा साझेदारी गरेका हुन् । कार्यक्रममा बोल्दै पाण्डेले कर्पोरेट क्षेत्रले सिनेमामा लगानी गर्दा यो क्षेत्रको व्यवसायिकता माथी उठ्ने भन्दै लगानी गर्न तयार भएको बताए ।

निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेललाई तयार पार्ने बताए । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने विश्वास व्यक्त गरे ।

लेखक पौडेलले यो सिनेमा नाम मात्रैको सिक्वेल नहुने बताए । ‘जहाँबाट प्रसादको कथा सकिएको छ ‘प्रसाद २’ त्यहिँबाट सुरु हुनेछ । बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढाव नै सिनेमाको केन्द्र हो’, पौडेलले भने ।

सिनेमामा ‘प्रसाद’मा मुख्य भुमिका निभाएका अभिनेता निश्चल बस्नेत बाहिरिँदा अर्पण थापाको प्रवेश भएको छ । अब विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा सिनेमाको मुख्य अभिनयमा रहनेछन् भने साथमा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन् ।

यही हप्ताबाट फ्लोरमा जाने सिनेमालाई कास्कीको याङ्जाकोट आसपास छायांकन गरिनेछ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् । सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन् । सिनेमा निर्माण टिमले आगामी तिहारलाई सिनेमाको प्रदर्शन मिति समेत तय गरेको छ । निर्माता थापाले सिनेमालाई तिहारमा दर्शकमाझ ल्याउने तयारी अनुसार नै छायांकनमा जान लागेको बताए ।

तस्वीर : ज्ञानु राई