पैसामा कुरा नमिलेर सिनेमा छोडेको अनुभव छैन् : विपिन कार्की

पैसामा कुरा नमिलेर सिनेमा छोडेको अनुभव छैन् : विपिन कार्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयका व्यस्त अभिनेता मध्ये एक हुन् विपिन कार्की । उनले ‘जात्रा’ सिरिज र ‘प्रसाद’ लगायतका सफल सिनेमामा काम गरेका छन् । विपिनले चरित्र निर्माणमा गर्ने मिहिनेत र अभिनय राम्रो गर्ने भएकाले सिनेमामा काम गराउन निर्माता तथा निर्देशकको लाइन लामै छ । उनी अहिले महंगा अभिनेतामा समेत पर्छन् ।

अहिले विपिन कार्कीले उच्च पारिश्रमिक डिमान्ड गर्ने गरेको सिनेमा वृतमा चर्चा छ । हालसालै उनले आफूलाई अफर भएका दुई सिनेमामा ५० लाख बढी पारिश्रमिक मागेका थिए । उनको पारिश्रमिक सुनेपछि निर्माता तथा निर्देशकले कुरै अगाडि बढाउन नसकेका समाचार प्रकाशित भैरहेका छन् । सोही विषयमा बिहिबार आयोजित ‘प्रसाद २’को घोषणा कार्यक्रममा अभिनेता विपिन कार्कीलाई पत्रकारले प्रश्न सोधेका थिए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै अभिनेतता कार्कीले पैसाको कुरा नमिलेर सिनेमा नगरेको आफूसँग अनुभव नभएको बताए । सिनेमामा आफूलाई तिरेको पारिश्रमिक फिर्ता पाउने विश्वासले नै निर्माताहरुले आफूमाथि लगानी गरिरहेको हुनसक्ने उल्लेख गरे । ‘प्रसाद २’को घोषणा सभामा नै उनले बैशाखसम्मका लागि आफ्नो सेड्युल फिक्स भइसकेकाले सिनेमाको अफर नगर्न पनि आग्रह गरेका छन् ।

उनले भने, ‘कति सिनेमाहरु पैसासम्म नपुगि नै काम गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ । स्कृप्ट हेरेर क्यारेक्टरमा म कन्भिन्स भइनँ भने काम गर्दिनँ । र, जति पनि सिनेमाहरु मैले गरिनँ, त्यसको क्यारेक्टरले कन्भिन्स नगरेरै हो । तर, पैसाको कुरा नमिलेर मैले सिनेमा छाडेको अनुभव छैन । बरु, सित्तैमा पनि सिनेमामा काम गरेको अनुभव छ । मैले ‘रातो सुटकेस’ भन्ने सिनेमा सित्तैमा गरेको थिएँ ।’

‘मैले धेरै पारिश्रमिक मागेर सिनेमा छाडेको भन्ने खबर आइरहन्छ । मलाई धेरै सिनेमाबाट अफर आउँछ । ‘प्रसाद २’कै समयमा तीनवटा स्क्रिप्टबाट अफर आयो । त्यसमध्ये मैले एउटा मात्र छानेँ । म स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा सिनेमा छनौटको निर्णय लिने गर्छु,’ उनले भने । धेरै सिनेमाबाट अफर आउने भएकाले सबै सिनेमामा आफूले काम गर्न नसक्ने विपिन बताउँछन् ।