फ्रान्सेली सिनेमा ‘दिग्बी’को छायांकन नेपालमा गरिने

फ्रान्सेली सिनेमा ‘दिग्बी’को छायांकन नेपालमा गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्रान्सली सिनेमाको छायांकन नेपालमा गरिने भएको छ । ‘दिग्बी’ नामको फ्रान्सेली सिनेमा नेपालमा छायांकन हुन लागेको हो । लोकेशन खोज्ने शिलशिलामा नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतवार काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सेली भाषामा बन्ने सिनेमाको बारेमा जानकारी गरायो ।

काठमाडौं र सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको नाम्चे क्षेत्रमा सिनेमाको छायांकन हुने निर्देशक सिमोनले बताए । ३५ दिनको छायांकन सेड्युलमा नेपाली कलाकारको समेत अभिनय रहनेछ । सिनेमाको ९० प्रतिशत नेपालमा र बाँकी १० प्रतिशत फ्रान्समा छायांकन हुने सिनेमाका लेखक समेत रहेका सिमोनले जानकारी दिए । आगामी मार्चदेखि सिनेमाको निर्माण सुरु हुनेछ ।

सन् २०१५ को भूकम्पको बेला नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यसबेला नै नेपालमा सिनेमाको छायांकन गर्ने योजना बनाएका थिए । पत्रकार सम्मेलनमा उनले भने- ‘धेरै विदेशीहरु आध्यात्मिकताको खोजी गर्न नेपालमा आउँछन् । म पनि आनन्द र खुशी दिने एउटा सिनेमा निर्माण गर्न नेपाल आएको छु ।’ सिनेमाले नेपालको पर्यटनलाई पनि सघाउने उनको विश्वास छ ।

फ्रान्सेली सिनेमाको नेपाल लाइन प्रोडुसरमा दिग्विजय भारती र सुरेश अधिकारी रहेका छन् । निर्देशक सिमोनका अनुसार, सिनेमाले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक पात्रको कथा भन्छ । उसको नेपालमा एक सारंगीवादक बालकसँग भेट भएपछि आउने परिवर्तन सिनेमाको कथावस्तु हो । नेपाली पात्रका लागि चाँडै कास्टिङ हुने जनाइएको छ ।